‘सोखका लागि होइन, आय आर्जन र उद्यमशीलताका लागि महानगरको सिपमूलक तालिम’ – कार्यवाहक प्रमुख सुनिता डंगोल

काठमाडौँ, १७ साउन । काठमाडौँ महानगरपालिकाले नागरिकलाई केवल सौखका लागि नभई व्यावसायिक रूपमा सक्षम बनाई आय आर्जन र उद्यमशीलतासँग जोड्ने उद्देश्यका साथ सिपमूलक तालिमलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा, महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालित एक महिने ‘फोटोग्राफी’ तथा ‘फोटो भिडियो पत्रकारिता’ तालिम शनिबार सम्पन्न भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत आयोजित यस तालिममा ३५ जना प्रशिक्षार्थीहरू सहभागी थिए । तालिमको समापन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरले प्रदान गर्ने तालिमको मुख्य ध्येय व्यक्तिलाई स्वरोजगार बनाउनु रहेको प्रस्ट पार्नुभयो ।

‘सिकाइलाई बजारसँग जोड्नुहोस्’
कार्यवाहक प्रमुख डंगोलले तालिम समापन हुनु भनेको व्यावसायिक यात्राको प्रारम्भ भएको बताउँदै भन्नुभयो, “हामीले प्रदान गर्ने तालिम सोख पूरा गर्नका लागि मात्र होइन । यसबाट व्यक्तिको आय आर्जनमा प्रत्यक्ष टेवा पुगोस् र उनीहरू उद्यमी बनून् भन्ने हाम्रो चाहना हो। अब तपाईँहरूले प्राप्त गरेको सिपलाई बजारको माग र रोजगारसँग जोड्न जरुरी छ ।”

उहाँले प्रशिक्षार्थीहरूलाई विशेष ‘गृहकार्य’ दिँदै काठमाडौँका मौलिक र पर्यटकीय महत्त्वका स्थलहरू पहिचान गरी तस्बिर खिच्ने स्थान (Photo Point) का रूपमा सिफारिस गर्न समेत आग्रह गर्नुभयो। जसलाई महानगरले सङ्केत चिह्नमार्फत ब्रान्डिङ गर्ने योजना बनाएको छ।

अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन
तालिम समापनको अवसरमा चलचित्र क्षेत्रका पहिलो स्टिल फोटो पत्रकार मञ्जु श्रेष्ठ र स्टिल फोटोमार्फत पोष्टर सिर्जना गर्ने सर्जक सुन्दर श्रेष्ठलाई जनही ३५ हजार नगदसहित सम्मान गरिएको थियो। महानगरले नयाँ पुस्तालाई सिप सिकाउँदै गर्दा यस क्षेत्रका दिग्गज व्यक्तित्वहरूको योगदानलाई समेत कदर गरेको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डि.सी.) ले महानगरको यो रचनात्मक पहलमा बोर्ड सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । वरिष्ठ प्रशिक्षक राजभाइ सुवालले फोटोग्राफीलाई निरन्तर अध्ययन र अभ्यासको विधाका रूपमा व्याख्या गर्नुभयो भने प्रशिक्षार्थी पुष्पा बुढा क्षेत्रीले तालिमले आफूहरूमा प्राविधिक ज्ञानसँगै व्यावसायिक आत्मविश्वास भरेको बताउनुभयो ।

महानगरको दीर्घकालीन लक्ष्य
काठमाडौँ महानगरपालिकाले डवली, चोक, ननी जस्ता भौतिक स्मारक र यहाँको संगीत, खानपान एवं कला-संस्कृतिलाई चलचित्र तथा तस्बिरका माध्यमबाट विश्वव्यापीकरण गर्ने लक्ष्य राखेको छ। महानगरको यो प्रयासले तालिमप्राप्त जनशक्तिलाई आफ्नै सहरमा स्वरोजगार बन्ने ढोका खोलिदिएको छ ।

गएको वैशाख १५ गते भएको सम्झौता बमोजिम सम्पन्न यस तालिमले काठमाडौँलाई ‘रचनात्मक सहर’ का रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ ।