पुराण लगाएर बिर्तामोडमा ‘देउनिया विश्रान्तिघाट’ निर्माण

झापा, १७ साउन । झापाको बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र धार्मिक पुराणबाट सङ्कलित रकमको सहयोगमा ‘देउनिया विश्रान्तिघाट’ निर्माण सम्पन्न भएको छ। घाटलाई थप आकर्षक र हरियालीयुक्त बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ।

विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो। घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप यो सरसफाइ गरिएको हो।

करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको विश्रान्तिघाटका लागि विभिन्न सरकारी निकायहरूले पनि आर्थिक सहयोग गरेका छन्। जसअन्तर्गत कोशी प्रदेश सरकारबाट रु आठ लाख र बिर्तामोड–८ वडा कार्यालयबाट रु १० लाख बजेट विनियोजन भएको थियो। यस्तै, गत वर्षको जेठमा लगाइएको धार्मिक पुराणबाट रु नौ लाख ३८ हजार सङ्कलन भएको थियो भने बाँकी रकम विभिन्न मनकारी दाताहरूले सहयोग गरेका हुन्।

निर्माण समितिका सचिव मदन अधिकारीले समुदायको साथ र दाताहरूको सहयोग बिना यो ऐतिहासिक काम सम्भव नभएको बताउनुभयो। बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले घाट निर्माण भएसँगै स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको शवदाहस्थलको समस्या समाधान भएको उल्लेख गर्नुभयो। “वर्षायाममा देउनिया खोलामा आउने बाढीका कारण खुला ठाउँमा शवदाह गर्न निकै कठिन हुन्थ्यो। नयाँ विश्रान्तिघाट बनेपछि त्यो जोखिम हटेको छ,” उहाँले भन्नुभयो।

वडाध्यक्ष कार्कीका अनुसार घाट निर्माणमा पशुपतिनाथ क्षेत्रबाट ल्याइएको नफुट्ने प्रकृतिको ढुङ्गा प्रयोग गरिएकाले संरचना बलियो बनेको छ। विश्रान्तिघाट रहेको क्षेत्रमा सिँचाइ डिभिजन कार्यालयले रु २५ लाखको लागतमा तटबन्ध निर्माण गरिसकेको छ भने जनताको तटबन्ध कार्यालयबाट थप रु २१ लाख तटबन्धका लागि विनियोजन भएको छ।