सप्तरीको राजविराज र बोदेबरसाइनबाट कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज, १७ साउन । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकको निर्णयबमोजिम ती स्थानहरूमा निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा लागू भएसँगै दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको यो आदेश अर्को निर्णय नभएसम्मका लागि कायम रहनेछ।
राजविराज नगरपालिकाकाे पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र।
बोदेबरसाइन नगरपालिकाकाे पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्र।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा स्थानीय प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।