झापामा अनुमति बिना सञ्चालित शैक्षिक परामर्श कन्सल्टेन्सीहरू कानुनी कारबाहीको दायरामा

झापा, २२ असार । झापा जिल्लामा नियमविपरीत र आवश्यक अनुमति बिना सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाहरू (कन्सल्टेन्सी) कानुनी कारबाहीको दायरामा आएका छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाको समन्वयमा स्थानीय प्रशासन र प्रहरीले विभिन्न स्थानमा अनुगमन गरी प्रक्रिया पूरा नगरेका कन्सल्टेन्सीहरूको कागजात जफत गरेर कारबाही अघि बढाएको हो।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार कोशी प्रदेश सरकार मातहत झापा जिल्लाका १८८ वटा शैक्षिक परामर्श संस्थाहरू नियमानुसार दर्ता भएका छन्। तर, जिल्लामा सञ्चालित कतिपय संस्थाहरूले दर्ता अनुमति बिना नै भाषा अध्यापन तथा शैक्षिक परामर्शका गतिविधिहरू सञ्चालन गरिरहेको पाइएकाले उनीहरूलाई कानुनी दायरामा ल्याइएको डीएसपी बस्नेतले जानकारी दिए।

जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये दमकमा करिब ९० र बिर्तामोडमा १२५ वटा शैक्षिक परामर्श संस्था सञ्चालनमा छन्। दमकमा सञ्चालित कन्सल्टेन्सीहरूमध्ये ३२ वटाले मात्रै आधिकारिक रूपमा दर्ता अनुमति लिएको पाइएको छ। इक्यान झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन भइरहेको दाबी गरेको छ।

दर्ता र अनुमति बिना भाषा अध्यापन गराउने तथा शैक्षिक परामर्श दिने कतिपय कन्सल्टेन्सीहरूले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूबाट मोटो रकम असुल गरिरहेको गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको हो।