सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई ७ दिने पुर्जी जारी: बूढानीलकण्ठस्थित घरमा टाँसियो सूचना
काठमाडौँ, २३ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन पुर्जी काटेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी चलिरहेको अनुसन्धानका क्रममा केही विषयहरू बुझ्नुपर्ने भएकाले जयवीरलाई सात दिनको समयसीमा दिँदै विभागमा उपस्थित हुन भनिएको हो। विभागको टोलीले सोसम्बन्धी पुर्जी देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा टाँस गरेको छ।
विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई यसअघि नै सोधपुछका लागि बोलाइसकेको छ। देउवा दम्पतीले भने अहिले आफूहरू व्यस्त रहेको जानकारी दिँदै आगामी साउन मसान्तसम्ममा मात्र विभागमा उपस्थित हुने जानकारी गराइसकेका छन्।