देशका सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौँ उपत्यकासहित चार जिल्लामा अझै जोखिम

काठमाडौँ, २३ असार । पछिल्लो समय देशका ११ जिल्लामा फैलिएको पन्छीजन्य सङ्क्रामक रोग बर्डफ्लु सातवटा जिल्लामा नियन्त्रणमा आएको छ। पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको हो।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी चार जिल्लामा भने बर्डफ्लु पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जानकारी दिए। रोगलाई थप फैलिन नदिन विभागले प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा दानालगायतका उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको उनले बताए।

सङ्क्रमण नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयहरूले उच्च सतर्कता अपनाउँदै गस्ती टोली परिचालन गरेका थिए। सो क्रममा सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू नियन्त्रणमा लिई नष्ट गरिएको थियो। हाल सात जिल्लामा रोग नियन्त्रणमा आएसँगै पन्छीको आन्तरिक ओसारपसारलाई केही खुकुलो बनाइएको विभागले जनाएको छ।

प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने र उच्च मृत्युदर भएको घातक सङ्क्रामक रोग भएकाले यसको रोकथामका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वयमा आवश्यक जनशक्ति र प्राविधिक टोली परिचालन गरी निगरानी बढाइएको छ।