मुस्ताङको स्वच्छता अभियान : २२ हजार केजीभन्दा बढी फोहर सङ्कलन र व्यवस्थापन
काठमाडौँ, असार २४ । जलवायु परिवर्तनको प्रतिकूल असर न्यूनीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङमा फोहरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता दिएको छ । यसै क्रममा एक्यापले जिल्लाका तीन गाउँपालिकाबाट सङ्कलित २२ हजार १८९ केजी नकुहिने फोहरलाई जिल्ला बाहिर निकासी गरी व्यवस्थापन गरेको छ ।
एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार आर्थिक वर्ष २०८०/८१ (साउनदेखि असार अन्तिमसम्म) मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई ट्रकमार्फत पोखरा पठाइएको हो । दुई हजार ५८१ बोरामा प्याक गरिएको उक्त फोहर पोखरास्थित ‘ग्रिन रोड वेस्ट मेनेजमेन्ट प्रालि’ को प्रशोधन केन्द्रमा पुर्याइएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार गत भदौमा ६४४ केजी, कात्तिकमा ८६० केजी, मङ्सिरमा १,५५६ केजी, पुसमा १,३५१ केजी, फागुनमा १,८८८ केजी, चैतमा २,४६२ केजी, वैशाखमा २,२३० केजी र असार महिनामा मात्रै छ पटक गरी १० हजार ६५९ केजी फोहर निकासी गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष फोहर निकासीको परिमाणमा ११७.७५ प्रतिशतले वृद्धि भएको एक्यापले जनाएको छ । अघिल्लो वर्ष १० हजार १९० केजी फोहर व्यवस्थापन गरिएको थियो ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढ्दै जाँदा फोहरको मात्रा पनि वृद्धि हुँदै गएको प्रमुख गुप्तले बताउनुभयो । एक्यापले यसै वर्ष थप चारवटा फोहर सङ्कलन केन्द्र निर्माण गरेको छ भने गत वर्ष पर्यटकीय क्षेत्रमा आठवटा यस्ता केन्द्रहरू स्थापना गरिएका थिए ।
फोहर व्यवस्थापनमा चुनौती औँल्याउँदै प्रमुख गुप्तले भन्नुभयो, ‘स्थानीय आमा समूह, गाउँसमाज र संरक्षण क्षेत्र व्यवस्थापन समितिले सक्रियताका साथ सरसफाइ गरे तापनि फोहरको वर्गीकरण (टिन, सिसा र प्लास्टिक छुट्टाछुट्टै राख्ने कार्य) हुन नसक्दा केही समस्या देखिएको छ ।’ यसअघि खाल्डो खनेर फोहर विसर्जन गर्ने गरिएकोमा विगत दुई वर्षदेखि एक्यापले आफ्नै खर्चमा फोहरलाई प्रशोधन केन्द्रसम्म पुर्याउने व्यवस्था मिलाएको हो ।
जिल्लालाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउन आगामी वर्षहरूमा थप सङ्कलन केन्द्रहरू विस्तार गर्ने नीति लिइएको छ । जलवायु सङ्कट न्यूनीकरणकै सिलसिलामा एक्यापले स्थानीय बासिन्दालाई इन्डक्सन चुलो र अन्य उपकरण वितरण गर्नुका साथै प्रदूषण र मानव स्वास्थ्यमा पर्ने असरका विषयमा जनचेतनामूलक साइन पोस्टिङ जस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।