वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किए, डीबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई ओलीद्वारा स्वागत

काठमाडौँ, २५ असार । वरिष्ठ कम्युनिष्ट नेता वामदेव गौतम समूहका प्रभावशाली नेताहरू नेकपा (एमाले) मा फर्किएका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई खादा ओढाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरे।

एमाले फर्किएका प्रमुख नेता कार्की विगतमा एमालेकै तर्फबाट पहिलो संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी लामो समयदेखि नेता वामदेव गौतमको समूहमा रहेर राजनीतिक रूपमा सक्रिय रहँदै आएका थिए।

एमालेमा समाहित हुने अन्य केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) रहेका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशको समृद्धि, राजनीतिक स्थायित्व र बलियो कम्युनिष्ट आन्दोलन निर्माणका लागि राष्ट्रवादी एवं प्रगतिशील शक्तिहरू एकीकृत हुनुपर्नेमा जोड दिए। नवप्रवेशी नेताहरूले पार्टीको नीति, सिद्धान्त र वर्तमान संगठनात्मक कार्यदिशाप्रति ऐक्यबद्धता जनाउँदै सक्रिय रूपमा एमाले सुदृढीकरण अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।