गणेश नेपालीको आत्मदाह प्रकरण: माइतीघरमा विद्यार्थी सङ्गठनको प्रदर्शन, प्रहरी र आन्दोलनकारीबीच झडप
काठमाडौँ, २६ असार । मुगुका २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको निधनलाई लिएर सङ्घीय राजधानी काठमाडौँमा तनाव उत्पन्न भएको छ।
शुक्रबार माइतीघर मण्डलामा भेला भएका संयुक्त विद्यार्थी सङ्गठनका कार्यकर्ताहरूले राज्यको असंवेदनशीलताविरुद्ध प्रदर्शन गर्दा प्रहरीसँग केहीबेर झडप र धकेलाधकेल भएको हो।
गणेश नेपालीको मृत्युको मुख्य कारण राज्य र स्थानीय प्रशासनको ‘निर्मम’ व्यवहार भएको भन्दै विद्यार्थीहरूले न्यायको माग गरेका छन्। प्रदर्शनकारीहरूले निषेधित क्षेत्रतर्फ अघि बढ्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा दुई पक्षबीच केही समय घम्साघम्सी भएको थियो। यद्यपि, केही समयपछि अवस्था सामान्य बने पनि माइतीघर क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।