बागलुङ बजारमा खानेपानीको सास्ती : लिफ्टिङ आयोजना सम्पन्न नहुँदा उपभोक्ता धमिलो पानी पिउन बाध्य
काठमाडौँ, असार २८ । बागलुङ बजारवासीको खानेपानी समस्या समाधानका लागि सुरु गरिएको ‘लिफ्टिङ’ आयोजना आठ वर्ष बितिसक्दा पनि पूर्णता नपाउँदा उपभोक्ताहरू दशकौँदेखि धमिलो पानी उपभोग गर्न बाध्य भएका छन् । आयोजनाको ९६ प्रतिशत काम अघिल्लो वर्ष नै सकिए पनि निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण नगर्दा शुद्ध खानेपानीको प्रतीक्षा लम्बिँदै गएको हो ।
खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाको पानी लिफ्ट गरी बजारमा ल्याउने उद्देश्यका साथ वि.सं. २०७५ मा यस आयोजनाको ठेक्का सम्झौता गरिएको थियो । वि.सं. २०७७ मा सम्पन्न गर्ने लक्ष्यसहित ‘कन्काई, जयमाता जेभी’ ले ३० करोड २६ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको थियो । तर, तोकिएको समयमा काम नसकिँदा आयोजनाको लागत बढेर हाल ३४ करोड ६५ लाख रुपैयाँ पुगिसकेको छ ।
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसीका अनुसार आयोजना हस्तान्तरणमा भएको ढिलाइले संस्थालाई वार्षिक करिब ८० लाख रुपैयाँ नोक्सानी भइरहेको छ । “बजारवासीले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आउनुभएको छ । अहिले नियमित वितरण गर्न सके पनि शुद्धीकरण गर्न सकेका छैनौँ,” अध्यक्ष जिसीले भन्नुभयो, “लिफ्टिङ आयोजना हस्तान्तरण नहुँदा ब्लिचिङ पाउडर मात्र हालेर धमिलो पानी नै धारामा पठाउन हामी बाध्य छौँ ।”
आयोजनाअन्तर्गत काठेखोलामा पाँचवटा पानी थिग्राउने ट्याङ्की, पाँच लाख लिटरको एउटा र दुई लाख लिटरका दुईवटा आरबीटी (RBT) ट्याङ्कीका साथै दुईवटा स्लोसेन्ट ट्याङ्की निर्माण गरिएको छ । यो आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको हो । उपभोक्ताको हिस्सावापतको रकममध्ये २५ प्रतिशत नगर विकास कोषबाट ऋण लिइएको छ । आयोजना पूर्ण रूपमा सञ्चालनमा नआए पनि उपभोक्ता समितिले वार्षिक ८० लाख रुपैयाँ सावाँ–ब्याज भुक्तानी गरिरहेको छ ।
यस आयोजनाबाट बागलुङ बजारका चार हजार १०० धारामा पानी पुर्याउने लक्ष्य राखिएको छ । स्थानीय बासिन्दा पिताम्बर आचार्यले दशकौँदेखि धमिलो पानी उपभोग गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “कहिले व्यवस्थापनको कमजोरी त कहिले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा बजारवासीले सास्ती खेप्नुपरेको छ । धारामा आउने पानी न पिउन योग्य छ, न त सरसफाइका लागि नै उपयुक्त छ ।”
निर्माण कार्य अन्तिम चरणमा पुगेर पनि हस्तान्तरण प्रक्रियामा भएको अवरोधले बागलुङ बजारको खानेपानी आपूर्तिमा गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयले अविलम्ब आयोजना सम्पन्न गरी शुद्ध खानेपानीको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।