मोदीखोलामा बाढीले पर्यटकीय मार्ग घान्द्रुक सडक ठप्प, ७४ मेगावाट बिजुली उत्पादन बन्द

कास्की, २८ असार । मनसुनको सक्रियतासँगै मोदीखोलाको जलाधार क्षेत्रमा भएको भीषण वर्षाका कारण आएको आकस्मिक बाढीले कास्की र पर्वतका तटीय क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ। बाढीले प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जोड्ने मुख्य सडक सञ्जाल विच्छेद गर्नुका साथै मोदी कोरिडोरका चारवटा जलविद्युत् गृहको उत्पादन ठप्प बनाएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङ क्षेत्रमा भएको भारी वर्षाका कारण मोदीखोलाको सतह ह्वात्तै बढेको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गरेपछि नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा घान्द्रुक, लान्द्रुक र अन्नपूर्ण आधार शिविर तर्फ जान लागेका सयौँ सवारी साधन र आन्तरिक तथा बाह्य पर्यटकहरू बिचमै अलपत्र परेका छन्। कतिपय पर्यटकहरू जोखिमपूर्ण रूपमा पैदल यात्रा गर्न बाध्य भएको प्रहरीले जनाएको छ। सडकको जग नै बगाएकाले तत्काल यातायात सुचारु हुने सम्भावना न्यून देखिएको छ।

बाढीले स्थानीय दिपिल गुरुङको घर र रेस्टुरेन्ट पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा आंशिक क्षति पुगेको छ। अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङका अनुसार, खोला किनारका दर्जनौँ घरहरू अझै उच्च जोखिममा रहेका छन्। मानवीय क्षति हुन नदिन स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोलाको सतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले जोखिमयुक्त क्षेत्रमा थप सुरक्षा जनशक्ति परिचालन गरेको छ।

बाढी र लेदोका कारण प्राविधिक जोखिम बढ्ने भएपछि मोदीखोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका छन्। तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार:
मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् गृहको उत्पादन स्थगित गरिएको छ।
यसबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने करिब ७४ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। खोलामा पानीको बहाव र लेदो नघटेसम्म उत्पादन सुरु गर्न नसकिने आयोजनाहरूले जनाएका छन्।