गणेश नेपालीको आत्मदाह : काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच नौ बुँदे सहमति
काठमाडौँ, २८ असार । राजधानीको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको निधनपछि उत्पन्न गतिरोध अन्त्य गर्न काठमाडाैं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार करिब १४ घण्टा चलेको वार्तापछि भएको यो सहमतिसँगै पीडित पक्षले शव बुझ्न र पोस्टमार्टम प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएका छन्।
१. उच्चस्तरीय छानबिन समिति: घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले एक जना पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने कार्यदेश दिइएको छ।
२. प्रहरी निलम्बन: घटना भएको दिन कार्यक्षेत्रमा खटिएका महानगर प्रहरी बलका कर्मचारीहरूलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्नेछ। उनीहरूमाथिको अन्तिम कारबाही छानबिन समितिको प्रतिवेदनका आधारमा तय गरिनेछ।
३. सहिद घोषणाको प्रक्रिया: मृतक नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, अभ्यास र छानबिन समितिको सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ।
४. दीर्घकालीन सामाजिक सुरक्षा र रोजगारी: काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती एकमाया नेपालीलाई उनको योग्यता र क्षमताका आधारमा महानगरभित्र रोजगारी सुनिश्चित गरिनेछ।
५. शिक्षा र राहत: मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययनको प्रबन्ध महानगरपालिकाले मिलाउनेछ। साथै, कार्यपालिकाको बैठकबाट निर्णय गराई परिवारलाई यथोचित आर्थिक राहत उपलब्ध गराइनेछ।
६. अन्तिम संस्कार र व्यवस्थापन: मृतकको पोस्टमार्टम, अन्तिम संस्कार, काठमाडौँमा गरिने काजकिरिया र परिवारको आवास तथा यातायातको सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।
वार्ता र निर्णय प्रक्रिया
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विशेष उपस्थितिमा भएको वार्तामा पीडित पक्षका तर्फबाट विभिन्न सरोकारवालाहरू सहभागी थिए। सहमति पत्रमा दुवै पक्षले मृतकको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।
मुगु सोरु गाउँपालिका–१ का गणेश नेपालीले असार २४ गते राहदानी विभाग अगाडि महानगर प्रहरीसँगको विवादका क्रममा आफैँमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। ६० प्रतिशतभन्दा बढी जलन भएका उनको असार २५ गते राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।