जापानको राजतन्त्रमा उत्तराधिकारी संकट: किन महिलालाई ‘एम्परर’ बन्न दिइँदैन?

 

टोकियो । विश्वकै सबैभन्दा पुरानो राजतन्त्र मानिने जापानी ‘क्रिसेन्थेमम थ्रोन’  यतिबेला गम्भीर उत्तराधिकारी संकटबाट गुज्रिरहेको छ। जापानमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित भए पनि उनको सरकारले शाही उत्तराधिकारी संकट टार्न अघि सारेका विकल्पहरूले महिलालाई सिंहासनमा बस्ने बाटो झन् कठिन बनाइदिएको छ।

हाल जापानी राजपरिवारमा राजगद्दीका लागि केवल तीन जना पुरुष उत्तराधिकारी मात्र जीवित छन्, जसमध्ये दुई जना ६० वर्षभन्दा माथिका छन्। सदियौंदेखि पुरुष प्रधान समाज र पितृसत्तात्मक सोचका कारण जापानमा पुरुषले मात्र सिंहासन सम्हाल्ने परम्परा रहिआएको छ। तर, यही नियम अहिले संसारकै सबैभन्दा पुरानो राजतन्त्रको अस्तित्वका लागि चुनौती बनेको छ।

के छ नयाँ सरकारी प्रस्ताव?
उत्तराधिकारीको अभाव टार्न सरकारले शाही परिवारका पुराना शाखाहरू (पूर्व सदस्यहरू) लाई पुन: समावेश गर्ने र धर्मपुत्रका रूपमा पुरुष सदस्यहरूलाई भित्र्याउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अहिले जापानी संसदमा स्वीकृतिको पर्खाइमा छ।

तर, विद्वानहरू र विपक्षी राजनीतिज्ञहरूले एउटै प्रश्न गरिरहेका छन्: “महिलालाई नै सम्राट किन नबनाउने?”

चुओ विश्वविद्यालयका प्रोफेसर माकोटो ओकावा भन्छन्, “महिलालाई सम्राट बन्न नदिनुको पछाडि कुनै ठोस तर्क छैन। यो केवल पितृसत्तात्मक विभेद मात्र हो।”

इतिहास र कानुनको अलमल
जापानको इतिहासमा आठ जना महिला ‘एम्प्रेस’ (महारानी सम्राट) भइसकेका छन्। प्राय: पुरुष उत्तराधिकारी सानै भएको समयमा उनीहरूले शासन सम्हालेका थिए। तर, सन् १८८९ को ‘इम्पेरियल हाउस ल’ ले महिलालाई सम्राट बन्न आधिकारिक रूपमा प्रतिबन्ध लगायो।

प्रोफेसर ओकावाका अनुसार जापानको वर्तमान संविधानले महिलालाई निषेध नगरे पनि पुरानो कानुन र परम्पराको नाममा उनीहरूलाई बाहिर राखिएको छ। विभिन्न सर्वेक्षणहरूले अधिकांश जापानी नागरिक महिला सम्राटको पक्षमा रहेको देखाएका छन्।

लोकप्रिय राजकुमारी आइको र कानुनी बाधा
वर्तमान सम्राट नरुहितोकी एकमात्र सन्तान राजकुमारी आइको जनतामाझ निकै लोकप्रिय छिन्। तर, २४ वर्षीया आइको महिला भएकै कारण उत्तराधिकारीको दौडबाट बाहिर छिन्। हालका सम्राटपछि उनका भाइ अकिशिनो (६०) र त्यसपछि १९ वर्षीय भतिजा हिसाहितो मात्र गद्दीका दावेदार हुन्। हिसाहितो विगत ४० वर्षमा राजपरिवारमा जन्मिएका एक मात्र पुरुष हुन्।

जापानको कडा कानुन अनुसार, यदि कुनै राजकुमारीले सर्वसाधारणसँग विवाह गरिन् भने उनले आफ्नो शाही पदवी त्याग्नुपर्छ। यसले गर्दा राजपरिवारको संख्या झन् खुम्चिँदै गएको छ।

परम्परा कि परिवर्तन?
विपक्षीहरू र केही नागरिकहरूले बेलायतको उदाहरण दिँदै महिला नेतृत्व स्वीकार गर्नुपर्ने तर्क गर्छन्। तर, प्रधानमन्त्री सानाए ताकाइची र उनको लिबरल डेमोक्र्याटिक पार्टी (LDP) भने पुरुष वंशको निरन्तरता नै जापानको स्थिरताको आधार भएको दाबी गर्छन्।

पूर्व शाही शाखाका सन्तान त्सुनेयासु ताकेडा भन्छन्, “यो लोकप्रियताको प्रतिस्पर्धा होइन। पितृसत्तात्मक वंश परम्परा तोडियो भने जापानको जग नै हल्लिनेछ।”

तर, साधारण नागरिक अकिओ कुबोता भने यो तर्कसँग सहमत छैनन्। उनी भन्छन्, “आजको युग लैंगिक समानताको हो। अन्य क्षेत्रमा महिला अघि बढ्दा सम्राटको भूमिकामा मात्र पुरुष हुनुपर्छ भन्नु अनौठो छ।”

राजपरिवारको काम र जिम्मेवारी बढ्दै जाने तर सदस्य संख्या घट्दै जाने अवस्थाले जापानलाई ढिलो चाँडो एउटा कठिन निर्णय लिन बाध्य पार्ने देखिन्छ— कि त परम्परा जोगाउने, कि त राजतन्त्रको अस्तित्व।