शिक्षिकाद्वारा विद्यार्थी कुटपिट प्रकरण : शिक्षामन्त्रीद्वारा चासो र पीडितसँग भेट
काठमाडौँ, असार ३० । काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा एक शिक्षिकाले विद्यार्थीमाथि गरेको कुटपिटको घटनाप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ ।
कक्षा ४ मा अध्ययनरत एक बालकलाई शिक्षिका सोना रानाले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले यस विषयमा सक्रियता देखाउनुभएको हो । मन्त्री पोखरेलले आज मन्त्रालयमा पीडित विद्यार्थी, उनका अभिभावक, विद्यालय सञ्चालक तथा प्रधानाध्यापकलाई बोलाएर घटनाबारे विस्तृत छलफल गर्नुभएको छ ।
छलफलका क्रममा मन्त्री पोखरेलले पीडित बालकसँग छुट्टै कुराकानी गर्दै उनको अवस्थाबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँले बालकको अध्ययन र खेलकुदप्रतिको रुचि जगाउन खेलकुद सामग्री प्रदान गर्दै उच्च मनोबलका साथ अघि बढ्न हौसला दिनुभयो ।
मन्त्री पोखरेलले विद्यार्थीमाथि हुने यस्ता हिंस्रक कार्य अक्षम्य हुने बताउँदै कानुनी प्रक्रियामा जानुपर्ने अवस्था आए मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर नपर्ने गरी विद्यालयले सचेतता अपनाउनुपर्छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन शिक्षकहरूलाई आवश्यक तालिम र अभिमुखीकरणको व्यवस्था गर्न म निर्देशन दिन्छु ।’
उक्त कुटपिटको घटना करिब एक वर्ष पुरानो भए तापनि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको हो। विद्यालयका प्रधानाध्यापक सुनिल रानाले घटनामा संलग्न शिक्षिका रानालाई गत जेठ महिनामै विद्यालयबाट निष्कासन गरिसकिएको जानकारी मन्त्रालयलाई गराउनुभएको छ ।
मन्त्रालयले विद्यालयहरूमा बालमैत्री वातावरण सुनिश्चित गर्न र शारीरिक तथा मानसिक सजाय पूर्णतः निषेध गर्न सबै सरोकारवालालाई पुनः सचेत गराएको छ ।