विकासको आँकडामा नागरिकका ज्वलन्त प्रश्न
काठमाडौँ, असार ३० । काठमाडौँ महानगरपालिकाको मुटुमा रहेको वडा नं. ३१ ले आइतबार आफ्नो वार्षिक कार्यप्रगति र खर्चको लेखाजोखा वडावासीको आँगनमा पुगेर सार्वजनिक गरेको छ। तर, यो केवल तथ्याङ्क प्रस्तुत गर्ने औपचारिक कार्यक्रम मात्र रहेन, बरु स्थानीय विकासको मोडेल र नागरिकका अपेक्षाबीचको खाडललाई उजागर गर्ने एक जीवन्त बहसको थलो बन्यो ।
तथ्याङ्कमा वडाको प्रगति
वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा पूँजीगततर्फ ५३.९९ प्रतिशत र चालुतर्फ ५८.९१ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। विनियोजित १५ करोड ३७ लाख रुपियाँ पूँजीगत बजेटमध्ये ८ करोड २९ लाख रुपियाँ खर्च भएको छ भने ३ करोड १८ लाख रुपियाँको चालु बजेटमा १ करोड ८७ लाख रुपियाँ खर्च भएको जानकारी वडा सचिव सुरेश साहु श्रेष्ठले दिनुभयो।
राजस्व संकलनमा भने वडाको उपलब्धि उत्साहजनक देखिएको छ। कुल २६ करोड ९५ लाख रुपियाँ राजस्व संकलन भएकोमा घर बहाल करको हिस्सा मात्रै ७०.३५ प्रतिशत (१८ करोड ९७ लाख रुपियाँ) रहेको छ।
सामाजिक सुरक्षा र मानवीय पक्ष
वडाले भौतिक पूर्वाधारसँगै सामाजिक सुरक्षामा पनि ठूलो लगानी गरेको देखिन्छ। यस वर्ष १ हजार ९८२ जना नागरिकलाई ८ करोड ४५ लाख रुपियाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई प्रदान गरिएको यो सहायताले राज्य नागरिकको अभिभावक बन्न खोजेको सङ्केत गर्छ। ७५ वर्ष पुगेका ४१९ जना ज्येष्ठ नागरिकलाई पोषण भत्ता बापत जनही १२ हजार रुपियाँ प्रदान गर्नु वडाको मानवीय कार्यको एक पाटो हो।
सार्वजनिक बहस : नागरिकको खबरदारी
कार्यक्रममा तथ्याङ्कको भारीभन्दा नागरिकका भोगाइ र प्रश्नहरू बढी वजनदार सुनिए। सार्वजनिक सुनुवाइमा सहभागी वडावासीले विकासको परम्परागत शैलीमाथि गम्भीर प्रश्न उठाए ।
एक स्थानीयले आक्रोश पोख्दै भने, ‘सडकमा कालोपत्र थप्दा-थप्दा हाम्रा घर सडकभन्दा तल पुगिसके, अब हामीलाई चिल्लो सडक होइन, डुबानबाट बच्ने उपाय चाहिएको छ।’ सडक खन्ने र ब्लक फेर्ने काममा समन्वय नहुँदा नागरिकले सास्ती खेप्नु परेको गुनासो पनि उत्तिकै थियो।
करोडौँको घरमा बस्नेलाई साबुन बनाउने वा माला उन्दने तालिमभन्दा हरेक घरमा आवश्यक पर्ने प्लम्बिङ वा इलेक्ट्रिसियन जस्ता व्यवहारिक सिपको तालिम दिन माग गरियो । टोलमा हुने विकासका कामबारे टोल विकास संस्थालाई नै जानकारी नहुने प्रवृत्ति अन्त्य गर्न माग गरियो । तदर्थवादमा काम गर्नुभन्दा वडाको एकीकृत गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिइयो।
उपचार गर्ने अस्पतालभन्दा निरोगी बनाउने वातावरण र टोलको सुरक्षा संयन्त्र बलियो बनाउनुपर्नेमा नागरिकको जोड थियो।
जनप्रतिनिधिको प्रतिबद्धता
जनताका तीखा प्रश्नको जवाफ दिँदै वडाध्यक्ष सरोज ढकालले नागरिकका सुझाव र गुनासोले आफूलाई अझ बढी उत्तरदायी र पारदर्शी बन्न ऊर्जा दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले पूर्वाधारसँगै सामाजिक विकास र स्वरोजगारलाई प्राथमिकता दिएका छौँ, आगामी दिनमा यी सुझावलाई मार्गनिर्देशनको रूपमा लिनेछौँ।’
बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले नागरिकको विश्वासबिनाको विकास दिगो नहुने धारणा राख्नुभयो। उहाँले सार्वजनिक सुनुवाइले नागरिकका अपेक्षालाई नीति र योजनामा बदल्न पुलको काम गर्ने उल्लेख गर्नुभयो ।
वडा सदस्यहरू हुमादेवी आचार्य र अशोक के.सी. खत्रीले पनि विगतको कमजोरी सुधार गर्दै आगामी दिनमा सामाजिक क्षेत्र र पूर्वाधार विकासलाई सन्तुलित रूपमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौँ वडा नं. ३१ को यो सार्वजनिक सुनुवाइले एउटा स्पष्ट सन्देश दिएको छ, विकास भनेको सडकमा अलकत्रा हाल्नु र तथ्याङ्कमा बजेट खर्च देखाउनु मात्र होइन । वास्तविक विकास त नागरिकको जीवनस्तरमा आउने सुधार, घरभित्रको सुरक्षा र राज्यसँगको सहज पहुँचमा लुकेको हुन्छ । वडाले प्रस्तुत गरेको वित्तीय प्रतिवेदन र नागरिकले राखेका मागबीचको तादात्म्य मिलाउनु नै अबको मुख्य चुनौती हो ।