मकवानपुर प्रशासनद्वारा काठमाडौँ जोड्ने दुई सडकमा सवारी आवागमनमा रोक

काठमाडौँ, असार ३० । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरक्षा संवेदनशीलता र प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै हेटौँडाबाट काठमाडौँ जोड्ने दुई मुख्य सडक मार्गमा सवारीसाधन आवागमनमा रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचना अनुसार, हेटौँडा-भैँसे-काठमाडौँ र कान्ति लोकपथमा आज साँझ ६:३० बजेदेखि भोलि (बुधबार) बिहान ५:०० बजेसम्मका लागि सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको हो । गत असार २८ गतेदेखि भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जानुका साथै खोलाहरूमा जलस्तर बढेपछि सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।

सूचनामा उल्लेख भएअनुसार, बागझोर क्षेत्रमा जुनसुकै बेला गेग्रानसहितको लेदो बग्न सक्ने र भीमफेदीस्थित बेलिब्रिज मर्मतको क्रममा रहेकोले जोखिम बढेको छ । साथै, वैकल्पिक डाइभर्सन समेत बाढीले बगाएको र हेटौँडा-भीमफेदी-सिस्नेरी खण्डमा वर्षासँगै ढुङ्गा खस्ने उच्च जोखिम रहेकाले यात्रुको सुरक्षाका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो ।

प्रशासनले विद्यमान विपद्को अवस्थालाई दृष्टिगत गर्दै अत्यावश्यक बाहेक रात्रीकालीन समयमा यात्रा नगर्न सवारी चालक तथा सर्वसाधारणमा अनुरोध गरेको छ । कुनै पनि विपद्जन्य घटना वा आपतकालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको नि:शुल्क सम्पर्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय वा स्थानीय प्रशासनमा जानकारी गराउन समेत सूचित गरिएको छ ।