चार प्रदेशमा वर्षा : कोशी र बागमतीसहित केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकका विभिन्न भागमा वर्षा र बदलीको क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पहाडी र हिमाली भू-भागमा बाक्लो बादल लागेको छ भने तराईका क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी र लुम्बिनीका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति पनि देशभरको मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना छ ।