प्रतिनिधिसभामा आज प्रधानमन्त्रीकाे जवाफ, के सांसदले उत्तर पाउला?

काठमाडौँ, १० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सोधेका समसामयिक प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुहुने कार्यक्रम रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ मा भएको व्यवस्थाबमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची तय गरिएको हो। यस क्रममा सांसदहरूले राखेका जिज्ञासा र मन्त्रालयगत प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ।

आजको बैठकमा प्रधानमन्त्री शाहले ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२’ सदनसमक्ष प्रस्तुत गर्नुहुनेछ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता’ सदनमा पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यो सम्झौतालाई नेपालको ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।

सदनको बैठकसँगै आज विभिन्न संसदीय समितिहरूका बैठक पनि बस्दैछन्। सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिको बैठक बसी सम्बन्धित विधेयक र नीतिगत विषयहरूमा छलफल हुनेछ।

के सांसदले उत्तर पाउलान्?
संसदीय अभ्यासमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई सरकारको जवाफदेहिता परीक्षण गर्ने महत्वपूर्ण कडी मानिन्छ। तर, विगतका कतिपय बैठकहरूमा सांसदहरूले उठाएका गम्भीर विषयमा प्रधानमन्त्रीले दिने जवाफ ‘अपूर्ण’ वा ‘सतही’ हुने गरेको भन्दै प्रतिपक्षी दलहरूले आलोचना गर्दै आएका छन्।

आजको बैठकमा प्रधानमन्त्रीले कत्तिको वस्तुपरक र चित्तबुझ्दो जवाफ दिनुहुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ। संसद् सचिवालयले प्रश्नोत्तरका लागि आवश्यक सबै तयारी पुरा भएको जनाएको छ।