कीभमा रुसी आक्रमण: १३ को मृत्यु, हवाई प्रतिरक्षा प्रणालीको अभावमा युक्रेन संकटमा

 

कीभ । युक्रेनको राजधानी कीभमा रुसले गरेको भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। हवाई प्रतिरक्षा (Air Defence) प्रणालीको चरम अभावका कारण युक्रेनले रुसी ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई रोक्न नसक्दा यो ठूलो क्षति भएको हो।

कीभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रुसी हमलाबाट आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयहरूमा क्षति पुगेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी सहयोगी राष्ट्रहरूसँग तत्काल एन्टि-ब्यालेस्टिक मिसाइल र प्याट्रियट  प्रणाली माग गर्दै भनेका छन्, “जबसम्म युक्रेनसँग पर्याप्त प्रतिरक्षा प्रणाली हुँदैन, रुसले शान्तिको बारेमा सोच्ने छैन।”

युक्रेनी वायुसेनाका अनुसार रुसले प्रहार गरेका २० वटा ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटै पनि खसाल्न सकिएन। अमेरिकाले मध्यपूर्वको युद्धमा आफ्नो मिसाइल मौज्दात प्रयोग गरिरहेकाले युक्रेनलाई दिने आपूर्तिमा कमी आएको बताइएको छ। आक्रमणका कारण कीभका हजारौँ घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

यसैबीच, रुसले आफ्ना सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ भने रुसी क्षेत्रमा पनि युक्रेनले ७०० भन्दा बढी ड्रोन प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। यो आक्रमणको प्रभाव छिमेकी राष्ट्र रोमानिया र पोल्याण्डसम्म पुगेको छ, जहाँ रोमानियामा एउटा ड्रोन खसेको छ भने पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित राख्न सैन्य अपरेशन सुरु गरेको छ। कीभमा शुक्रबार शोक दिवस मनाउने घोषणा गरिएको छ।