एआईमा ब्राजिलको ठूलो लगानी: अमेरिका र चीनसँग सन्तुलन मिलाउँदै सुपरकम्प्युटर निर्माण गर्ने

 

रियो दि जेनेरियो । ब्राजिलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन २ अर्ब ३० करोड रियास (करिब ४४ करोड ४२ लाख डलर) लगानी गर्ने घोषणा गरेको छ। प्रविधि क्षेत्रका दुई महाशक्ति राष्ट्रहरू अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै ब्राजिलले दुवै देशका प्रविधि प्रयोग गर्ने रणनीतिक योजना अघि सारेको हो।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारका अनुसार, कुल लगानीको आधाभन्दा बढी अर्थात् १ अर्ब ३० करोड रियास रियो दि जेनेरियोमा सुपरकम्प्युटिङ पूर्वाधार विकासका लागि खर्च गरिनेछ। यस परियोजनाका लागि ब्राजिलले चिनियाँ प्रविधि कम्पनीहरू ‘हुवावे’  र ‘आईफ्लाईटेक’  सँग साझेदारी गरेको छ। यस पूर्वाधारको मुख्य प्रयोग भाषासम्बन्धी ठूला मोडलहरू (LLMs) र विभिन्न क्षेत्रगत एप्लिकेसनहरू विकास गर्न गरिनेछ।

यसैगरी, करिब १ अर्ब रियास विश्वका १० शक्तिशाली सुपरकम्प्युटरमध्ये एक निर्माण गर्न विनियोजन गरिएको छ। यो मेसिन ब्राजिलको उत्तर-पूर्वी राज्य रियो ग्रान्डे डो नोर्टेमा स्थापना गरिनेछ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो परियोजनाका लागि अमेरिकी चिप निर्माता कम्पनी ‘एनभिडिया’ ले ठेक्का पाउने प्रबल सम्भावना छ। ब्राजिलकी विज्ञान तथा प्रविधि मन्त्री लुसियाना सान्तोसले पनि अमेरिकी कम्पनी नै यसको आपूर्तिकर्ता हुने संकेत गरेकी छन्।

“हाम्रो रणनीति कुनै एउटै कम्पनी, प्रविधि वा देशमा मात्र भर नपर्नु हो,” राष्ट्रपति लुलाको प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। डाटा (तथ्याङ्क) माथि राष्ट्रिय सार्वभौमसत्ता सुदृढ गर्ने उद्देश्यले यी लगानीहरू गरिएको सरकारको दाबी छ।

ब्राजिलका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने अमेरिका वैदेशिक प्रत्यक्ष लगानीको प्रमुख स्रोत हो। यस्तो अवस्थामा दुवै देशको प्रविधिलाई समेटेर अघि बढ्नुलाई ब्राजिलको कूटनीतिक र प्राविधिक सन्तुलनको रूपमा हेरिएको छ।

यो परियोजनाका लागि राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक विकास कोष बाट रकम खर्च गरिनेछ। सरकारले आगामी वर्षको अन्त्यसम्ममा सुपरकम्प्युटर सञ्चालनमा आउने अपेक्षा गरेको छ भने चिनियाँ कम्पनीहरूसँगको सहकार्य सन् २०२७ को जुलाईदेखि औपचारिक रूपमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *