डडेल्धुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
काठमाडौँ, साउन २ । डडेल्धुराको अमरगढी नगरपालिका ७ स्थित खसरेखानमा बुधबार बिहान भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कैलालीको धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका १ का २५ वर्षीय शुभम लोथ्याल र सोही स्थानका २० वर्षीय हुम लोथ्यालको मृत्यु भएको हो ।
दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र हाल त्यहीँ उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।