बूढी राप्तीमा डुबेर एक पुरुषको मृत्यु

काठमाडौँ, साउन २ । चितवनको खैरहनी नगरपालिकास्थित बूढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । खोलामा घुँगी खोज्न गएका स्थानीय ४० वर्षीय राजाराम ढकालको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी ढकाल आज दिउँसो खोलामा घुँगी खोज्ने क्रममा अचानक डुबेका थिए ।

खोलामा डुबेको अवस्थामा फेला परेका ढकाललाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा आज अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।