फ्रान्समाथि ६–४ को जित निकाल्दै इङ्ग्ल्यान्ड तेस्रो, बुकायो साकाको ह्याट्रिक
काठमाडाैं, ३ साउन । फिफा विश्वकप २०२६ को ‘थर्ड प्लेस प्ले–अफ’ तेस्रो स्थानका लागि भएको भिडन्तमा साविक उपविजेता फ्रान्सलाई पराजित गर्दै इङ्ग्ल्यान्डले तेस्रो स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न गोलको वर्षा भएको रोमाञ्चक खेलमा इङ्ग्ल्यान्ड ६–४ ले विजयी भएको हो।
खेलको प्रारम्भदेखि नै आक्रामक रणनीति अपनाएको इङ्ग्ल्यान्डले पहिलो हाफमा फ्रान्सको रक्षापङ्क्तिलाई पूर्णतः दबाबमा राखेको थियो। खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाए। १८औँ मिनेटमा एज्री कोन्शाले हेडरमार्फत दोस्रो गोल गरेपछि इङ्ग्ल्यान्डको मनोबल उच्च बन्यो।
पहिलो हाफको मुख्य आकर्षण बुकायो साका रहे। उनले ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गरेपछि इङ्ग्ल्यान्ड ४–० को सहज स्थितिमा पुगेको थियो।
चार गोलले पछि परेको अवस्थामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। कप्तान किलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक मोडमा ल्याए। यसबीच ५४औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरेपछि फ्रान्सले स्कोर ४–३ को स्थितिमा पुर्याउँदै इङ्ग्ल्यान्डमाथि दबाब सिर्जना गरेको थियो।
खेलको ८७औँ मिनेटमा इङ्ग्ल्यान्डले पेनाल्टी प्राप्त गर्यो, जसमा बुकायो साकाले कुनै गल्ती नगरी गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे र स्कोर ५–३ बनाए। दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन। अन्तिम समयमा जुड बेलिङ्घमले गोल थपेपछि इङ्ग्ल्यान्डले ६–४ को सानदार जित सुनिश्चित गर्यो।
सन् १९६६ मा विश्वकपको उपाधि जितेयता इङ्ग्ल्यान्डले हासिल गरेको यो नै उत्कृष्ट स्थान हो। यसअघि सन् २०१८ को विश्वकपमा इङ्ग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो। ६ दशकपछि विश्वकपको मञ्चमा इङ्ग्ल्यान्डले आफ्नो साखलाई थप सुदृढ बनाउन सफल भएको छ।