नयाँ बसपार्कको एक गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला: हत्याको आशङ्का

काठमाडौँ, ४ साउन । काठमाडाैंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा युवतीको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनालाई हत्याको आशङ्कामा विस्तृत अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मृतक युवती कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको माछापोखरी क्षेत्रमा बस्दै आएकी २५ वर्षीया निशा सुनुवार हुन्। आइतबार गेस्ट हाउसको एक कोठाबाट असामान्य दुर्गन्ध आएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले कोठाभित्र सुनुवारको शव फेला पारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक उच्च अधिकारीका अनुसार, घटनास्थलको वस्तुस्थिति र प्रारम्भिक मुचुल्का उठाउँदा घटना प्राकृतिक नभई हत्या भएको हुनसक्ने बलियो आधार फेला परेको छ। “हामीले घटनास्थललाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान सुरु गरेका छौँ,” ती अधिकारीले भने।

मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले गेस्ट हाउसमा राखिएको ‘गेस्ट रेकर्ड’ र आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजहरू सङ्कलन गरिरहेको छ। सुनुवारसँगै कोठामा को–को प्रवेश गरेका थिए र उनी कहिलेदेखि त्यहाँ बसेकी थिइन् भन्नेबारे प्रहरीले गेस्ट हाउस सञ्चालक र कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *