माइतीघर डुबानको प्राविधिक प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ, ६ साउन । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा बर्खायाममा हुने डुबानको समस्या समाधानका लागि प्राविधिक कारणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार साँझ माइतीघर मण्डला क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले सरोकारवाला निकायका अधिकारीहरूलाई समस्याको जरैसम्म पुगेर प्रतिवेदन तयार पार्न निर्देशन दिनुभएको हो ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड , डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागका टोलीलाई एकीकृत रूपमा अध्ययन गरी समाधानको उपायसहित प्रतिवेदन बुझाउन भन्नुभएको छ ।

प्राविधिक समस्या : ठूलो ढलमा सानो निकास
अनुगमनका क्रममा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख सुवोध देवकोटाले डुबानको प्रारम्भिक प्राविधिक कारणबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल जडान गरिएको भए तापनि निकास हुने ठाउँमा भने जम्मा ६० सेन्टिमिटरको मात्र ढल रहेको छ । यसरी ढलको आकारमा देखिएको अमिल्दोपन (बोटल नेक) ले गर्दा ठूलो पानी पर्दा निकास हुन नसकी सडकमा पानी जम्ने गरेको पाइएको छ ।

यसका अतिरिक्त माइतीघर मण्डला वरिपरि भएका नयाँ भवन निर्माणका क्रममा ढल निकास प्रणालीमा पुगेको अवरोधलाई पनि डुबानको अर्को कारणका रूपमा औंल्याइएको छ ।

साझेदार निकायबीचको समन्वयमा जोड
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन, पूर्वाधार निर्माणकर्ता र सुविधा वितरण गर्ने साझेदार निकायहरूसँगको सहकार्यमा माइतीघरलाई डुबानमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाउन र संरचनागत सुधार गर्न महानगरले नेतृत्व लिनेछ ।’ उहाँले भन्नुभयो ।

निरीक्षण टोलीमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग र महानगर प्रहरी बलका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । प्रतिवेदन प्राप्त भए लगत्तै ढलको क्षमता विस्तार र अवरोध हटाउने कार्य अघि बढाइने महानगरपालिकाले जनाएको छ ।