बाँकेमा फेरियो धान रोपाइँको शैली : खेतमा गोरु हराए, यान्त्रिकीकरणमा बढ्यो आकर्षण
नेपालगन्ज, ६ साउन । बाँकेका धानखेतमा अचेल पहिले जस्तो ‘ह ह माले, ह ह तारे’ को आवाज सुनिँदैन । न त खेतका गह्रामा गोरु जुधेको वा दौडेको दृश्य नै देख्न पाइन्छ । कृषि प्रणालीमा आएको परिवर्तन र आधुनिक प्रविधिको बढ्दो प्रयोगले परम्परागत हलो–जुवाको ठाउँ अहिले ट्याक्टर र पावर टिलरले लिएका छन् ।
बाँके जिल्लाभर अहिले धान रोपाइँको चटारो छ, तर खेतका फाँटमा गोरु वा राँगाभन्दा बढी मेसिनरी उपकरणहरू कुदिरहेका देखिन्छन् । कृषिमा यान्त्रिकीकरण भित्रिएसँगै किसानलाई समयको बचत हुनुका साथै काममा सहजता भएको छ ।
जानकी गाउँपालिका–३, कर्मनाका किसान सुन्दर खटिकले धेरै वर्षदेखि ट्याक्टरकै सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आउनुभएको छ । यस वर्ष पनि दुई बिघा जमिनमा खेती गर्नुभएका उहाँले भन्नुभयो, “अहिले धेरैजसो किसानको घरमा गोरु वा राँगा छैनन् । ट्याक्टर वा पावर टिलरबाट जोत्दा काम छिटो सकिन्छ, त्यसैले हामीले पनि प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म शुल्क तिरेर खेत जोताएका हौँ ।”
खेत जोत्न मेसिनको प्रयोग बढे पनि उत्पादन लागत भने बर्सेनि बढ्दै गएको किसानहरूको गुनासो छ । किसान खटिकका अनुसार मेशिनको भाडा, रासायनिक मलको अभाव र रोपाइँ गर्ने मजदुरको ज्याला (दैनिक ५०० देखि ८०० रुपैयाँ) का कारण धानखेती खर्चिलो बन्दै गएको छ ।
नेपालगन्ज–१७ का अर्का किसान जैनुल शेखले पनि पछिल्लो एक दशकदेखि गाउँघरमा गोरुले जोतेको देख्न छाडिएको सुनाउनुभयो । उहाँका अनुसार अचेल किसानले ‘राम’ र ‘हाइब्रिड’ जातका धान बढी लगाउन थालेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले कृषि प्रणाली पहिलेभन्दा आधुनिक र मेसिनमैत्री बन्दै गएको बताउनुभयो । “किसानहरू यान्त्रिकीकरणतर्फ आकर्षित भएका छन्,” उहाँले भन्नुभयो, “अहिले धेरैले गोरु–राँगा पाल्न छाडिसकेका छन् । त्यसैले पनि कृषि उपकरणको माग र प्रयोग तीव्र गतिमा बढिरहेको छ ।”
केन्द्रकी सूचना अधिकारी सुजिता शर्माका अनुसार प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा १८० वटा पावर टिलर र थ्रेसरलगायतका उपकरण वितरण गरिसकेको छ । हाल जिल्लामा करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । कोहलपुर, बैजनाथ र राप्तीसोनारीका सिँचाइ सुविधा पुगेका क्षेत्रमा रोपाइँ लगभग सकिएको छ भने आकाशे पानीको भरमा खेती गर्नेहरू अझै रोपाइँमै व्यस्त छन् ।
बाँकेमा कुल ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ, जसमध्ये हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँ सकिएको ज्ञान केन्द्रले जनाएको छ ।