कांग्रेस संस्थापन इतर समूहको आह्वान : असोज ३ होइन, १५ गतेको वडा अधिवेशनमा सहभागी बनौं
काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रिया सहभागी नहुन इतर समूहले आग्रह गरेको हो।
संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय तयारी समिति गठन गरेको छ। समितिले सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनसहित विभिन्न तहका अधिवेशनमा सहभागी हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेको हो।
संस्थापन समूहले १५औँ महाधिवेशन मंसिर १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। तर संस्थापन इतर समूहले भने मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको छ।
समितिका संयोजक कोइरालाले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर सहमति, सहकार्य र एकताका आधारमा महाधिवेशन सम्पन्न गर्न आफूहरूले सुरुदेखि नै प्रयास गर्दै आएको बताएका छन्।
उनले पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधिबाट बच्न संवाद र सहमतिमार्फत समाधान खोज्न आग्रह गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको आरोप लगाएका छन्।
विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र पार्टी एकतालाई थप क्षति नपुर्याउन आग्रह गर्दासमेत त्यसको बेवास्ता गरिएको इतर समूहको दाबी छ।
कोइरालाले संस्थापन पक्षले महाधिवेशनको मिति एकलौटी रूपमा घोषणा गरी कार्यतालिका सार्वजनिक गरेको आरोपसमेत लगाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने इतर समूहको धारणा छ।
