झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
झापा, ८ साउन । झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी एवं वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार गणभित्र आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर ३० वर्षीय सशस्त्र प्रहरी जवान सुदिम खत्रीको मृत्यु भएको हो। सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका खत्रीलाई बिहीबार साँझ करिब ५:०० बजे करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका खत्रीलाई तत्काल उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तालिम प्राप्त गर्नुभएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।