तीन प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी र पहिरोको जोखिम
काठमाडौँ, १० साउन । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ । यस्तै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी जिल्लाहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभरिको मौसममा खासै सुधार हुने देखिँदैन । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका अन्य भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।