नारायणी अस्पतालका चिकित्सकमाथि साङ्घातिक आक्रमण : दोषीलाई कडा कारबाही गर्न चिकित्सक सङ्घको माग
पर्सा, १० साउन । नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको साङ्घातिक आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
सङ्घले आज एक विज्ञप्ति जारी गर्दै शनिबार बेलुका करिब ४०–५० जनाको समूहले कार्यक्षेत्रमा खटिएका डा. राममाथि मरणासन्न हुने गरी आक्रमण गरेको जनाएको छ । मुटुसम्बन्धी समस्या भई अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीको उपचारको विषयमा यथार्थ नबुझी आक्रोशित समूहले अस्पतालमा तोडफोड र आतङ्क सिर्जना गरेको सङ्घको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा हुलहुज्जत गरी चिकित्सकमाथि गरिएको यो आपराधिक कार्य अत्यन्तै निन्दनीय छ । यस्ता घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई कडा कारबाही गर्न र स्वास्थ्यकर्मीहरूलाई सुरक्षित एवं भयरहित वातावरणमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”
सङ्घले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन समेत स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराएको छ । शनिबारको उक्त घटनापछि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू त्रसित बनेका छन् ।