साउनको दोस्रो सोमबार : हेटौँडाका शिवालयहरूमा भक्तजनको घुइँचो

काठमाडौँ, साउन ११ । साउन महिनाको दोस्रो सोमबारका अवसरमा आज मकवानपुरको हेटौँडास्थित विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ । हेटौँडाको भुवनेश्वर पशुपति मन्दिरसहित यस क्षेत्रका विभिन्न शक्तिपीठ तथा मठमन्दिर परिसरमा रहेका शिव मन्दिरहरूमा पूजाआजा गर्ने श्रद्धालुहरूको घुइँचो देखिएको हो ।

विशेष गरी हेटौँडाका प्रसिद्ध धार्मिक स्थलहरू भुटनदेवी, गोरक्षधाम क्षेत्र तथा अन्य स्थानीय शिवालयहरूमा दर्शनार्थीको विशेष चाप रहेको छ । भुवनेश्वर पशुपति मन्दिरका पुजारी पवन घिमिरेका अनुसार हरेक वर्ष साउनको सोमबार शिवको थापना गरिएका मन्दिरहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ ।

आज बिहानैदेखि श्रद्धालुहरू लामबद्ध भई विधिवत् रूपमा पूजाआजा र दर्शनमा सहभागी भएका छन् । भक्तजनको आगमन बढेसँगै मन्दिर वरपर बेलपत्र, पुष्प तथा फलफूलको व्यापारमा समेत वृद्धि भएको पाइएको छ ।

पूर्वीय धर्मशास्त्रहरूमा साउन महिनाको सोमबार भगवान् शिवको उपासना र पूजाआराधनाका लागि विशेष महत्वपूर्ण मानिने भएकाले यस दिन शिवालयहरूमा भक्तजनको विशेष आकर्षण रहने गर्दछ ।