सरकार ! आधुनिक सुरुङमार्गको शिलालेख मेटिएला तर इतिहास मेटिन्न

काठमाडौं, ११ साउन । २०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक शिलान्यास गर्नुभएको थियो । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा शिलान्यास गरेको उहाँको नाम अंकित शिलालेख अहिले त्यहाँ छैन ।

निर्माण सुरु भएको करिब ८० महिनापछि नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गको परिचय बनाएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गर्दैगर्दा शिलान्यासको शिलालेख भने त्यहाँ थिएन ।

केही समय अघिदेखिनै त्यहाँको शिलालेखबारे विभिन्न खाले टिप्पणी हुँदै आएका थिए । सडक विभागले पनि शिलालेख निकालेर बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको र जेन–जी आन्दोलनका क्रममा आगलागीबाट विभागमा क्षति भएसँगै उक्त शिलालेख पनि जलेर नष्ट भएको प्रतिक्रिया दिएको छ । तर, त्यहाँ उद्घाटनको शिलालेख राख्दै गर्दै शिलान्यासको भने गायव हुनुलाई धेरैले आश्चर्य मानेका छन् । कतिपयले त शिलालेख मेटिए पनि इतिहास नमेटिने भन्दै प्रतिक्रिया दिएका छन् ।

सरकार अस्थायी चिज हो र इतिहास स्थायी कुरा हो भन्दै इतिहास मेटाउने होडबाजीमा कोही पनि लाग्नु नहुने एकथरीको तर्क छ । अहिले रास्वपा नेतृत्वको सरकार छ । उक्त सरकारको नेतृत्व बालेन साहले गर्नुभएको छ । साहले सरकारको नेतृत्व गरेसँगै पुरान सरकारले गरेका इतिहास मेटाउने प्रयास भएको भन्दै धेरैले विरोध पनि गरेका छन् । रास्वपा र प्रधानमन्त्री साह निकटकै व्यक्तिहरुले पनि सुरुङमार्गको जस केपी ओलीलाई दिनुपर्ने भन्दै आवाज उठाएका छन् ।

रुटिन अफ नेपाल बन्द प्रधानमन्त्री साहको निकट मानिन्छ । त्यसका सञ्चालक भिक्टर पौडेल हुनुहुन्छ । उहाँले समेत सुरुङमार्गको जस ओलीलाई दिनुपर्ने भन्दै स्ट्याटस लेखेपछि उक्त स्ट्याटसको धेरैले प्रशंषा गरेका छन् ।

‘गरेकोलाई गरेको देख्नुपर्छ, त्यो हाम्रो धर्म हो, यसका लागि केपी ओलीलाई धन्यवाद’ भन्दै भिक्टरले लेख्नुभएको छ– ‘नेपालजस्तो भूगोल भएको देशमा यस्तो आधुनिक सुरुङ धेरै वर्ष अगाडिदेखि सयौँ ठाउँमा हुनुपर्थ्यो तर आँट कसैले नगरेको बेला केपी ओलीले आट गरेर आफ्नो कार्यकालमा मुख्य प्राथमिकतामा राखे, त्यो सबैले प्रशंसा गर्नुपर्छ ।

नेपालको पहिलो आधुनिक सुरुङ भएकाले कमीकमजोरी पनि भए होलान्, ढिलासुस्ती पनि भयो होला । कोहीलाई त्यति ठूलो कुरा पनि नलाग्ला तर यसले नयाँ शुरुआत गरेको छ । नेपालको रोड कनेक्टिभिटीमा इँटा थप्ने काम गरेको छ । अब आशा गरौँ, यस्ता सुरुङहरू धेरैभन्दा धेरै थपिनेछन् र जनताले नेपालको सडकमासुरक्षित ,छरितो र झन्झटमुक्त यात्रा गर्न पाउनेछन् ।’