देशभर एकैदिन विपद्का ४२ घटना : तीन जनाको मृत्यु, ३४ जिल्ला प्रभावित
काठमाडौँ, १२ साउन । पछिल्लो २४ घण्टाको अवधिमा मुलुकभर विपद्जन्य ४२ वटा घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृत्यु हुने तीनै जना पहिरोमा परेका हुन् । पछिल्लो एक दिनमा देशका विभिन्न स्थानमा पहिरोका १२, सर्पदंशका १२, आगलागीका ७, भारी वर्षाका ६, जनावरको आक्रमणका ३ तथा बाढी र भूकम्पका एक–एक वटा घटना दर्ता भएका छन् । यी घटनाहरूबाट देशभरका ३४ जिल्ला प्रभावित बनेका छन् ।
विपद्का विभिन्न घटनाहरूमा परी २१ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट ४, आगलागीबाट २, भारी वर्षाबाट १ र जनावरको आक्रमणबाट २ जना घाइते भएका हुन् । यी घटनाहरूबाट करिब १ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
यसैगरी, बाढी र पहिरोका कारण देशभरका ९ वटा सडक खण्ड अझै पनि अवरुद्ध रहेका छन् । विपद्का कारण २२ वटा चौपायाको समेत क्षति भएको प्राधिकरणले जनाएको छ ।