सुनसरीमा तनाव झन् चुलियो : आगजनी र लुटपाटका घटना, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
इनरुवा, १२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडपको असर जिल्लाका अन्य क्षेत्रमा पनि फैलिएको छ । घटनापछि उत्पन्न आक्रोश र तनावका कारण जिल्लाका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटनाहरू भइरहेका छन् ।
विशेष गरी कोशी ग्रामीण नगरपालिका–४, कटान क्षेत्रमा रहेका किराना पसलहरूमा प्रदर्शनकारीहरूले आगजनी र लुटपाट गरेका छन् । जनप्रतिनिधिहरूका अनुसार राजमार्ग क्षेत्रमा रहेका पसलहरूमा ठुलो क्षति पुगेको छ । प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डमा टायर बालेर यातायात पूर्ण रूपमा ठप्प पारेका छन् भने अन्य सहायक सडकहरूमा समेत अवरोध सिर्जना गरिएको छ ।
यसैबिच, भोक्राहा नरसिंह गाउँपालिकाको अवस्था समेत तनावपूर्ण बनेको छ । गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा दुई समुदायका युवाहरूबीच ढुङ्गामुढा भएको स्थानीयले जनाएका छन् । मुख्य बजारभन्दा भित्रको बस्तीमा झडप भएकाले सुरक्षाकर्मी तत्काल पुग्न कठिनाइ भएको दाबी गरिएको छ । भोक्राहा–६ मा करिम अन्सारी नामका व्यक्तिको घरभित्रै पसेर कुटपिट गरिएको र केही स्थानीयको घरमा आगजनी समेत भएको बताइएको छ ।
स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले देवानगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ भने अन्य संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीय बासिन्दा र नागरिक समाजले हिंसालाई थप फैलिन नदिन र साम्प्रदायिक सद्भाव कायम राख्न सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन् । उनीहरूले घटनामा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न र निर्दोष नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।