काठमाडौँको गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ, १३ साउन । सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको फर्मास्युटिकल लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेहरूमा भारत घर भएका २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मीस्थान–६ बस्ने २४ वर्षीय दीपक राई रहेका छन्।

भारतबाट अवैध रूपले नेपाल ल्याई लागुऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई मङ्गलबार नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ (ट्रामाडोल) नामक प्रतिबन्धित औषधि एक लाख २० हजार क्याप्सुल बरामद गरेको छ।

यसैगरी, लागुऔषध ओसारपसारमा प्रयोग गरिएको टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको मिनी ट्रक (हात्ती गाडी), बागमती प्रदेश०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नेपाली नगद रुपैयाँसमेत बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध र सवारीसाधनसहित आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको डीएसपी थापाले जानकारी दिनुभयो।