माइती घर मण्डला डुवान समाधानमा कार्यवाहक प्रमुखको नतिजामुखी नेतृत्व : आजै समन्वय बैठक, आजै संरचनागत अवरोध हटाउन प्रारम्भ
काठमाडौँ, साउन १३ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको दीर्घकालीन समाधानका लागि तदारुकता देखाउनुभएको छ । कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा आज बसेको समन्वय बैठकले सो क्षेत्रको डुबान समस्या सुल्झाउन प्राप्त प्राविधिक प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै अवरोध हटाउने कार्य आजैबाट सुरु गरेको छ। सामुहिक हितका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्दै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने गरी काम अघि बढाउन उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको हो ।
समन्वय बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले आन्तरिक तथा बाह्य समन्वयलाई थप मजबुत बनाउन र डुबान समाधानका क्रममा अन्य सेवा प्रवाहमा कुनै असर पर्न नदिन निर्देशन दिनुभयो । उहाँले भत्काउने कार्यसँगै निर्माणको कामलाई पनि उत्तिकै गतिमा अघि बढाउनुपर्नेमा जोड दिँदै भत्किएको भागलाई अलपत्र नछाडी तत्काल दिगो पूर्वाधार तयार गर्न कर्मचारी तथा प्राविधिकहरूलाई सचेत गराउनुभयो। स्थानीय बासिन्दा, व्यवसायी र सरोकारवाला कार्यालयहरूसँग समान धारणा बनाएर समूहगत रूपमा कार्यक्षेत्रमा उत्रन उहाँको निर्देशन रहेको छ ।
बैठकमा भएका निर्णयहरू र प्राविधिक पक्षबारे जानकारी दिँदै डिभिजन सडक कार्यालयका प्रमुखले पानीको निकासका लागि आरसीसी ढलान गर्ने र त्यसलाई आवश्यकता अनुसार खोल्न मिल्ने स्ल्यापले छोप्ने योजना प्रस्तुत गर्नुभयो । यस्तो संरचनाले मनसुनअघि मेसिनको प्रयोग गरी ढल सफा गर्न सहज बनाउने विश्वास लिइएको छ। बैठकले बन्द भएका ढलका निकास सुचारु गर्ने, नाली खोल्ने र त्यसक्रममा निस्कने निर्माणजन्य फोहोरको तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको छ । यो अभियानमा महानगरपालिकाका विभिन्न विभाग, डिभिजन सडक कार्यालय र नेपाल प्रहरीले संयुक्त रूपमा काम गर्नेछन् ।
माइतीघर क्षेत्रमा सवारी साधन र पैदलयात्रीलाई हुने सास्ती कम गर्न कार्यवाहक प्रमुख डंगोलले गत साउन ५ गते आफैँ स्थलगत अनुगमन गर्नुभएको थियो । सोही अनुगमनपछि उहाँले दिनुभएको निर्देशनका आधारमा गठित प्राविधिक अध्ययन समितिले साउन ७ गते प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले पूर्वाधार निर्माणमा रहेका प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्रमा भएको अतिक्रमणलाई डुबानको मुख्य कारणका रूपमा औंल्याएको छ । कार्यवाहक प्रमुख डंगोलको सोही सक्रियता र पहल कदमीका कारण आजैदेखि मण्डला क्षेत्रमा देखिएका भौतिक अवरोधहरू हटाउने र ढल निकासलाई व्यवस्थित बनाउने कामले गति लिएको छ ।