सरकार र नेपाल चिकित्सक सङ्घबीच ५ बुँदे सहमति : आन्दोलनका कार्यक्रम फिर्ता, स्वास्थ्य सेवा सुचारु

काठमाडौँ, १३ साउन । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज पाँच बुँदे सहमति भएको छ । योसँगै चिकित्सकहरूले विगत दुई दिनदेखि जारी राखेका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिई देशभरका स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेका छन् ।

चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा भएको कुटपिट र दुव्र्यवहारको विरोधमा सङ्घले मङ्गलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएको थियो । सोही समस्या समाधानका लागि आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिमा उल्लेखित मुख्य बुँदाहरू:
१. ऐनको प्रभावकारी कार्यान्वयन: सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि आवश्यक निर्देशिका बनाइनेछ ।
२. कानुनी कारबाही र समन्वय: स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित मन्त्रालयहरू (गृह, कानुन र स्वास्थ्य) बीच आवश्यक समन्वय गरिनेछ ।
३. सुरक्षा कार्ययोजना र कार्यदल: स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि एक ठोस कार्ययोजना तयार गरिनेछ । सो कार्ययोजना कार्यान्वयनको नियमित समीक्षा गर्न चिकित्सक सङ्घको सहभागितामा एक कार्यदल गठन गरिने सहमति भएको छ ।
४. ऐन संशोधनको तयारी: उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा आवश्यक संशोधन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात दिनभित्र एक कार्यदल गठन गर्नेछ । सोही कार्यदलको प्रतिवेदनका आधारमा ऐन संशोधनको प्रक्रिया अघि बढाइनेछ ।

सहमतिपत्रमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव डा. पराशर ढुङ्गाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिसँगै चिकित्सकहरू काममा फर्किएपछि दुई दिनदेखि रोकिएको ओपिडी लगायतका स्वास्थ्य सेवाहरू पुनः सञ्चालनमा आएका छन् ।