देवानगन्ज गोलीकाण्डका घाइते तीन जनाको अवस्था चिन्ताजनक

विराटनगर, १३ साउन । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागि घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको र अन्यको अवस्था सामान्य बन्दै गएको अस्पतालहरूले जनाएका छन् ।

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहता, १८ वर्षीय अमित यादव र २१ वर्षीय रवीन्द्रकुमार मेहताको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखिएको छ ।

नोबेल शिक्षण अस्पतालमा उपचाररत १८ वर्षीय अमित यादवको बायाँ हात र कोखामा गोली लागेको थियो । शल्यक्रिया गरी गोली निकालिए पनि उहाँको अवस्था गम्भीर रहेको छ । यस्तै, विराट नर्सिङ होममा उपचाररत २१ वर्षीय रवीन्द्रकुमार मेहताको बायाँ तिघ्राको नसामा गम्भीर चोट लागेकाले शल्यक्रिया पश्चात् भेन्टिलेटरमा राखिएको छ ।

सोही अस्पतालमा देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता र देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादवको अवस्था भने सामान्य छ । बायाँ हातको कुहिनामा गोली लागेका २६ वर्षीय सुनील मेहताको शल्यक्रिया हुन बाँकी रहे पनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विराटनगरकै न्युरो अस्पतालमा चार जनाको उपचार भइरहेको छ । पेटमा गोली लागेका २२ वर्षीय जयप्रकाश मेहताको अवस्था गम्भीर रहेकाले उहाँलाई भेन्टिलेटरमा राखिएको छ । १८ वर्षीय मिथिलेश मेहताको पनि शल्यक्रिया पश्चात् आईसीयूमा उपचार भइरहेको छ । सोही अस्पतालमा रहेका २२ वर्षीय हरेराम यादव र १८ वर्षीय अमलेश मेहताको अवस्था भने सामान्य रहेको छ ।

आइतबार रातिको घटनापछि सोमबार र मङ्गलबार सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए । हिंसात्मक प्रदर्शनका कारण तनावग्रस्त बनेको सुनसरीको जनजीवन बुधबारबाट भने केही सामान्य बन्दै गएको छ ।

प्रहरीका अनुसार उक्त झडप र त्यसपछिका प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु र निषेधाज्ञा जारी गरेको थियो । हाल सुरक्षा व्यवस्था कडा पारिएसँगै साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय पहल भइरहेको छ ।