अमूर्त सम्पदाको संरक्षणमा महानगरको प्रतिबद्धता : पञ्चदान र दिपङ्कर बुद्धको शोभायात्रामा कार्यवाहक प्रमुख डंगोल सहभागी

काठमाडौँ, साउन १३ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँका मौलिक एवं अमूर्त सम्पदाहरूको संरक्षणमा महानगरपालिका सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँको महाबौद्ध र असन क्षेत्रमा आज आयोजित पञ्चदान तथा दिपङ्कर तथागत बुद्धको विशेष शोभायात्रामा सहभागी हुँदै उहाँले जनश्रुति र कथनमा आधारित यस्ता सांस्कृतिक परम्पराहरूको संवर्द्धनका लागि महानगरले तथ्यमा आधारित योजना अघि बढाउने बताउनुभयो । विगत २४ वर्षदेखि हुन नसकेको ‘सम्यक महादान’को स्मरणमा आज आयोजित यस विशेष उत्सवमा कार्यवाहक प्रमुख डंगोलले पञ्चदानको सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी लिँदै स्थानीय र श्रद्धालुहरूसँग अन्तरक्रिया समेत गर्नुभयो ।

सो अवसरमा श्रद्धालुहरूसँग कुराकानी गर्दै कार्यवाहक प्रमुख डंगोलले सम्पदा संरक्षणका लागि स्थानीयका सुझाव र आवश्यकतालाई प्राथमिकता दिइने बताउनुभयो । “हामी आवश्यकता र तथ्यमा आधारित कार्यक्रमहरू कार्यान्वयन गर्न चाहन्छौँ, त्यसैले सम्पदा जोगाउने सन्दर्भमा तपाईँहरूका सुझाव निर्धक्क राख्नुहोला ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले काठमाडौँका जात्रा र पर्वहरू सामाजिक सद्भाव कायम राख्ने वैज्ञानिक संस्कार भएको उल्लेख गर्नुभयो ।

आजको विशेष शोभायात्रामा काठमाडौँका विभिन्न महाविहार, बहाः र बहीः बाट ल्याइएका ८५ जना शाक्य स्थवीर (थायपा), दिपङ्कर तथागत बुद्धहरू र जीवित देवताका रूपमा पूजिने श्रीगणेश र श्रीभैरवलाई विराजमान गराइएको थियो। बिहान ७ बजे बुद्धहरूको आसन ग्रहणबाट सुरु भएको कार्यक्रममा ९ बजेदेखि ११ बजेसम्म पञ्चदान प्रदान गरिएको थियो। नेवार समुदायमा प्रचलित यस परम्परा अनुसार चामल, धान, नुन, दाल र दक्षिणा गरी पाँच वस्तु दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

अपरान्ह साढे १२ बजे महाबौद्धबाट सुरु भएको दिपङ्कर बुद्धको शोभायात्रा असन, त्योड, इनबहाल, कमिलाक्षी र भोटाहिटी हुँदै असनको डवलीसम्म पुगेको थियो। शोभायात्रा समापनपछि असनमा विशेष पूजा आराधना गरिएको थियो। हरेक १२ वर्षमा स्वयम्भूमा आयोजना हुने ‘सम्यक महादान’ पछिल्लो समय वि.सं. २०६० सालमा मात्र सम्पन्न भएको थियो। सो ऐतिहासिक दान पर्वको गरिमालाई जीवन्त राख्न र निरन्तरताको झझल्को दिन आजको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिएको हो ।