सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित
काठमाडौँ, साउन १५ । धनुषा जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको ‘कर्फ्यु’ आदेशका कारण जयनगर-जनकपुर-भङ्गाहा खण्डमा सञ्चालित रेल सेवा अस्थायी रूपमा बन्द गरिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आज एक सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूको जिउज्यानको सुरक्षालाई मध्यनजर गरी सेवा स्थगन गरिएको जानकारी दिएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामका अनुसार, जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञा (कर्फ्यु) कायम रहेसम्म रेल सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ । निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, परिस्थिति सामान्य हुनासाथ रेल सेवा पुनः सुचारु गरिनेछ ।
रेल सेवा अचानक बन्द हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय लागू रहने कम्पनीले स्पष्ट पारेको छ ।