अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न चार जना उपकरणसहित पक्राउ

काठमाडौँ,  साउन १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा छापा मारी ब्यूरोको टोलीले उनीहरूलाई अत्याधुनिक उपकरणसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गोरखा, अजिरकोट निवासी प्रोशेस गुरुङ, काठमाडौँ, शङ्खरापुरकी मुना श्रेष्ठ, कञ्चनपुर, कृष्णपुरका जेनित झुकाल र भक्तपुर, सूर्यविनायकका कृष्ण नगरकोटी रहेका छन्। उनीहरूले विभिन्न स्थानमा लुकिछिपी दूरसञ्चार सेवालाई ठगी गर्दै अवैध कल बाइपास केन्द्र सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा ब्यूरोले कारबाही अघि बढाएको थियो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा प्राविधिक उपकरणहरू बरामद गरिएको छ । बरामद गरिएका सामग्रीहरूमा ल्यापटप, विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीका सिमकार्डहरू, मोबाइल सेट, ब्याट्री, इन्टरनेट हब, राउटर र भीओआईपीमा प्रयोग हुने अन्य उपकरणहरू रहेका छन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि दूरसञ्चार ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अवैध कल बाइपासका कारण राज्यले राजस्व र दूरसञ्चार प्रदायक कम्पनीहरूले ठूलो आम्दानी गुमाउँदै आएका छन् । सीआईबीले पछिल्लो समय यस्ता अवैध गतिविधिमाथि आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।