सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु आज रातिदेखि हटाइने
काठमाडौँ, साउन १७ । सिरहाको गोलबजार क्षेत्रमा उत्पन्न तनावका कारण लगाइएको कर्फ्यु आज राति ७ बजेदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय सुरक्षा अवस्थाको पछिल्लो वस्तुस्थिति विश्लेषण गर्दा स्थिति सामान्य बन्दै गएको निष्कर्षसहित कफ्र्यु हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा आज जारी गरिएको सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश २०८३ साउन १७ गते राति ७:०० बजेदेखि निष्क्रिय हुने उल्लेख छ ।
गोलबजार क्षेत्रमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो । सुरक्षा निकायको प्रभावकारी परिचालन र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएपछि प्रशासनले उक्त प्रतिबन्ध हटाएको हो ।
प्रशासनले कफ्र्यु हटाइए पनि शान्ति सुरक्षा कायम राख्न र कुनै पनि उच्छृङ्खल गतिविधि हुन नदिन स्थानीयवासीलाई सचेत रहन आग्रह समेत गरेको छ ।