विपद् व्यवस्थापनमा सीप र क्षमतायुक्त जनशक्ति परिचालनमा कांग्रेसको जोड

काठमाडौँ,  साउन १६ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले विपद्को समयमा भावनाले मात्र नभई दक्ष सीप र क्षमताका आधारमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजनीतिक नेतृत्वमा करुणा अनिवार्य गुण भए पनि संकटको समयमा प्रभावकारी सहयोगका लागि ज्ञान र सीप आवश्यक पर्ने बताउनुभयो। “ज्ञानमा आधारित जनशक्तिले मात्र कठिन परिस्थितिमा सही ढङ्गले सहयोग पुर्‍याउन सक्छ ।” उहाँले भन्नुभयो, “कांग्रेसको यो नयाँ अभियानमार्फत सेवा भावका साथै प्राविधिक क्षमता विकास गर्न म सहभागीहरूलाई आह्वान गर्दछु ।”

सोही अवसरमा पार्टीका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विपद्का बेला उद्धार कार्यमा पार्टीपंक्ति अझ बढी सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । विगतमा पर्याप्त तयारी र सीपको अभावमा कतिपय अवस्थामा टुलुटुलु हेरेर बस्नुपरेको स्मरण गर्दै उहाँले अबका दिनमा कांग्रेस सामाजिक कार्य र विपद् व्यवस्थापनमा प्रत्यक्ष सहभागी हुने बताउनुभयो । यस्ता प्रशिक्षण कार्यक्रमहरूलाई आगामी दिनमा देशभर सञ्चालन गर्ने लक्ष्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

साउन १६ देखि १८ गतेसम्म चल्ने उक्त प्रशिक्षणमा ४० भन्दा बढी युवाहरूको सहभागिता रहेको छ। प्रशिक्षणमा विपद् व्यवस्थापन विज्ञहरू तीवेन्द्र बाँस्कोटा, भोजराज घिमिरे, पिताम्बर अर्याल, पूजा शाक्य, राम भट्टराई र लक्ष्मण मालीले प्रशिक्षण दिइरहनुभएको छ ।

कार्यक्रम संयोजक मानबहादुर थापाका अनुसार प्रशिक्षणमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै विपद्का बेला अपनाउनुपर्ने व्यावहारिक अभ्यासहरूसमेत गराइनेछ ।