विगत २४ घण्टामा मनसुनजन्य विपद्जन्य घटनामा एकको मृत्यु, २० जना घाइते

काठमाडौँ,  साउन १७ । नेपालमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनाहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा भएका विपद्जन्य घटनामा परी एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) द्वारा सार्वजनिक तथ्याङ्कअनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्मको अवधिमा देशका २५ जिल्लामा कुल ३४ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । यी घटनाहरूमध्ये सर्पदंशका कारण एक जनाले ज्यान गुमाएका हुन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र वन्यजन्तु आक्रमणका ३ वटा घटना भएका छन् । ती घटनाहरूबाट अनुमानित २७ लाख २५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । साथै, विपद्का कारण दुई स्थानमा सडक अवरुद्ध हुनुका साथै १८ वटा चौपायाको क्षति भएको विवरण प्राप्त भएको छ ।

वैशाखयताको अवस्था : १९६ जनाको मृत्यु
प्राधिकरणले गत वैशाख १ गतेदेखि हालसम्मको एकीकृत तथ्याङ्क पनि सार्वजनिक गरेको छ। जसअनुसार यस अवधिमा देशभर कुल चार हजार ५३ वटा विपद्का घटनाहरू भएका छन् ।

ती घटनाहरूमा परी हालसम्म १९६ जनाले ज्यान गुमाएका छन् भने चार जना अझै बेपत्ता छन् । यस्तै, एक हजार २९१ जना घाइते भएका छन् भने कुल पाँच हजार १८८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

मनसुनजन्य जोखिम कायमै रहेकाले प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।