बाटो सोध्ने बहानामा सिक्री लुट्ने ‘कर्मा समूह’ को पर्दाफास : यस्तो थियो लुटपाटको नाटकीय शैली
काठमाडौँ, १७ साउन । गत असार १३ गते बिहान करिब ४:०० बजे काठमाडौँको शान्तिनगरमा एक महिला तरकारी पसलतर्फ जाँदै थिइन् । मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले उनलाई रोकेर सोधे– ‘पेप्सीकोला जाने बाटो कता हो ?’ ती महिलाले सहजै बाटो देखाइदिइन् । तर, केही अगाडि पुगेर फर्किएका उनीहरूले महिलालाई भुइँमा लडाए र घाँटीमा लगाएको २.५ तोलाको सुनको सिक्री लुटेर फरार भए ।
नाटकीय जस्तो लाग्ने यो घटना कुनै चलचित्रको दृश्य नभई काठमाडौँ उपत्यकामा सक्रिय सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङ समूहको लुटपाट गर्ने नियमित शैली थियो । शनिबार राति बूढानीलकण्ठको चुनिखेलमा प्रहरीको गोली प्रहारबाट घाइते भई पक्राउ परेका कर्मा र उनको समूहले उपत्यकाका विभिन्न स्थानमा यसरी नै लुटपाट मच्चाउँदै आएको खुलासा भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कर्मा समूहले विशेष गरी बिहान सबेरै र राति अबेर सडकमा निस्किने वृद्धवृद्धा र महिलाहरूलाई निसाना बनाउने गरेको थियो । अपरिचित व्यक्ति झैँ बनेर बाटो सोध्ने बहाना गर्ने र मौका पाउनासाथ घाँटीको सिक्री लुटेर फरार हुने उनीहरूको मुख्य शैली थियो । यस्ता घटना असार १५ गते नरेफाँट र धुलिखेल तथा साउन ७ गते धापासी हाइटमा पनि दोहोरिएका थिए ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार यो समूहले लुटपाटमा प्रयोग हुने मोटरसाइकलको नम्बर प्लेट पटक–पटक परिवर्तन गर्ने गरेको थियो । उनीहरूले काठमाडौँमा लुटपाट गर्ने र लगत्तै सिन्धुपाल्चोक वा काभ्रेतर्फ भागेर सुरक्षित हुने बाटो अपनाएका थिए ।
साउन १५ गते कर्मा समूहका अन्य सदस्यहरू काभ्रेको बनेपाबाट पक्राउ परेपछि नाइके कर्मा प्रहरीको मुख्य ‘ट्र्याकिङ’ मा थिए । शनिबार राति करिब १०:२५ बजे बूढानीलकण्ठ–१३ चुनिखेलमा प्रहरीसँग उनको जम्काभेट भयो । प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरे पनि कर्माले उल्टै खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले उनको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले कर्मासँगै लुटपाटमा संलग्न काभ्रेका ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ र ३६ वर्षीय मनोज तामाङ तथा कास्कीका २९ वर्षीय आले गुरुङलाई पक्राउ गरेको छ । उनीहरूको भूमिका बाँडफाँट यस्तो थियो । कर्मा तामाङ: समूहको नाइके र प्रत्यक्ष लुटपाटमा संलग्न । पासाङ घिसिङ: लुटपाटका लागि मोटरसाइकल चोरी गरेर उपलब्ध गराउने ।
मनोज तामाङ: सुन पसल सञ्चालक, जसले लुटिएको सुन गाल्ने र स्वरूप परिवर्तन गरी बिक्री गर्ने ।
आले गुरुङ र प्रतिमान गोले: लुटपाटमा सहयोग र ‘ब्याक फोर्स’ को भूमिका ।
पक्राउ परेका नाइके कर्मा तामाङ पेसाले सवारी चालक भए पनि उनको आपराधिक इतिहास निकै लामो छ । उनीविरुद्ध यसअघि नै ९ वटा चोरी तथा डाँका मुद्दा दर्ता भइसकेका छन् । कर्मा गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए ।
त्यस्तै, प्रतिमान गोले पनि नख्खु कारागारबाट भागेर पुनः पक्राउ परी कैद भुक्तान गरेर छुटेको तीन हप्ता मात्र भएको थियो । प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग हुने मोटरसाइकल, खुकुरी, चोरीका औजार र विभिन्न ५ थान नम्बर प्लेटसमेत बरामद गरेको छ । प्रहरीको यो सफलतासँगै उपत्यकामा हुने सिक्री लुटपाटका घटनामा कमी आउने विश्वास लिइएको छ ।