झापामा कागजपत्र नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा; २ लाख १० हजार राजस्व संकलन
काठमाडौँ, साउन १७ । झापाका विभिन्न स्थानमा आवश्यक कागजातबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी र अटोलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही गरेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक र बिमाबिना सञ्चालन भइरहेको जनगुनासो आएपछि प्रहरीले विशेष सक्रियता देखाएको हो ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार जिल्लाभर सञ्चालन गरेको विशेष ‘चेकिङ अपरेसन’का क्रममा ती सवारीसाधन कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार उक्त अभियानअन्तर्गत कुल ३५८ वटा सवारीसाधनको सघन जाँच गरिएको थियो ।
जाँच गरिएकामध्ये २८५ वटा सिटी सफारी र ७३ वटा अटो रहेका थिए । जसमध्ये प्रक्रिया नपुर्याई सञ्चालन गरिएका १६८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको डीएसपी अवाले जानकारी दिनुभयो । उक्त कारबाहीबाट राज्य कोषमा २ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, चेकिङका क्रममा तत्काल आवश्यक कागजात पेस गर्न नसकेका थप २७ वटा सवारीसाधनलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ । ती सवारीसाधनका बारेमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सुरक्षित यात्रा र कानुनी मापदण्ड पालना गराउन यस्तो अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।