भरतपुरमा मात्रै वैदेशिक रोजगारीमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

चितवन, १७ साउन । भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा ज्यान गुमाएका १३ जना महानगरवासीको शव नेपाल ल्याउन सहजीकरण गरेको छ । श्रम स्वीकृति लिएर कामका लागि विदेश गएका श्रमिकहरूको निधनपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी महानगरले शव झिकाएको हो ।

विभागका प्रमुख सन्देश वाग्लेका अनुसार गत वर्ष कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट शवहरू नेपाल ल्याइएको हो । मृत्यु हुनेहरूमा हृदयाघात, आत्महत्या र सडक दुर्घटना लगायतका कारणहरू रहेका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा निजको परिवारले ठुलो रकम राहत पाउने व्यवस्था छ । प्रमुख वाग्लेका अनुसार कल्याणकारी कोषमा रकम जम्मा गरेका र बिमा गरेका श्रमिकको निधन भएमा परिवारले वैदेशिक रोजगार बोर्डबाट १० लाख र म्यादी जीवन बिमाबापत १४ लाख गरी कुल २४ लाख रुपैयाँसम्म प्राप्त गर्ने गर्दछन् ।

यसका साथै, मृतकका आश्रित बालबालिकालाई शिक्षाका लागि छात्रवृत्ति समेत उपलब्ध गराइन्छ । जसअन्तर्गत कक्षा ८ सम्म वार्षिक १२ हजार र कक्षा ८ देखि १२ सम्म वार्षिक १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने व्यवस्था रहेको छ ।

महानगरले श्रमिक मात्र नभई उनीहरूका परिवारका सदस्य जटिल बिरामी परेमा समेत उपचार खर्च दिलाउन पहल गर्दै आएको छ । गत वर्ष भरतपुरका चार जना बिरामीले विभागको सिफारिसमा ४ देखि ७ लाख रुपैयाँसम्म उपचार खर्च प्राप्त गरेका छन् ।

यस्तै, विदेशमा अलपत्र परेका वा कानुनी झमेलामा फसेका श्रमिकको उद्धारमा पनि महानगर सक्रिय देखिएको छ । गत वर्ष झै–झगडा र अवैध मदिरा बिक्रीको अभियोगमा विदेशमा पक्राउ परेका दुई जना भरतपुरवासीको सफल उद्धार गरिएको विभागले जनाएको छ ।

वि.सं. २०८० देखि भरतपुर महानगरपालिकाबाटै श्रम स्वीकृतिको काम हुन थालेपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । महानगरले आफ्ना बासिन्दालाई वैदेशिक रोजगारीका क्रममा पर्ने कुनै पनि समस्यामा स्थानीय स्तरमै सहजीकरण र परामर्श सेवा प्रदान गरिरहेको छ ।