साउनको तेस्रो सोमबार अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनद्वारा जलार्पण
भद्रपुर (झापा), १९ साउन । साउन महिनाको तेस्रो सोमबार झापाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । ‘पूर्वको पशुपतिनाथ’ का रूपमा परिचित अर्जुनधारा नगरपालिका–७ स्थित यस धाममा बिहानैदेखि नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत र भुटानबाट समेत ठुलो सङ्ख्यामा श्रद्धालुहरू पूजा-आराधनाका लागि आइपुगेका थिए ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार साँझसम्म करिब ४० हजार भक्तजनले भगवान शिवको पूजा, दर्शन र जलार्पण गरेका छन् । अघिल्ला दुई सोमबारको तुलनामा यस पटक श्रद्धालुको उपस्थिति उल्लेख्य रूपमा बढेको समितिले जनाएको छ । भक्तजनको सहजताका लागि धाम परिसरमा स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइ तथा प्राथमिक स्वास्थ्य सहायताको उचित प्रबन्ध मिलाइएको थियो ।
धामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार सामान्य दिनहरूमा पनि दैनिक करिब पाँच हजार श्रद्धालु आउने यस धाममा साउने सोमबार, महाशिवरात्रि र तीजजस्ता पर्वहरूमा भने भक्तजनको चाप अत्यधिक हुने गर्दछ ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस क्षेत्रभित्र १०८ शिवलिङ्ग, पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिवलिङ्ग र अर्जुनवाण मूल पोखरी रहेका छन् । साथै, परिसरमा रहेका पाँचधारा, कालीनाग मन्दिर, हनुमान स्तम्भ, शन्तनिवास, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशालाले समेत भक्तजनलाई आकर्षित गर्ने गरेको छ । साउन महिनाभर यस धाममा विशेष धार्मिक अनुष्ठान तथा गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।