ग्यास अभाव हटाउन प्रशासनको सक्रियता : सञ्चित नगर्न बिक्रेतालाई चेतावनी
कास्की, १९ साउन । जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा खाना पकाउने ग्यास (एलपिजी) को अभाव देखिन थालेपछि आपूर्ति र वितरण व्यवस्थालाई सहज बनाउन विशेष पहल सुरु गरेको छ । प्रशासनले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूलाई निरुत्साहित गर्न बजार अनुगमनलाई समेत तीव्र पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखराका ग्यास बिक्रेताहरूलाई ग्यास लुकाएर वा सञ्चित गरेर नराख्न कडा निर्देशन दिइएको छ । पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई वितरण प्रणाली पारदर्शी र सुलभ बनाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
“प्रशासनका तर्फबाट आवश्यक समन्वय र अनुगमन भइरहेको छ,” सहायक प्रजिअ बरालले भन्नुभयो, “आजभोलिसम्ममा थप तीनवटा ग्यास बुलेट पोखरा भित्रिँदैछन् । त्यसैले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेछ, उपभोक्ताहरूलाई नआत्तिन आग्रह गर्दछौँ ।”
केही दिनअघि प्रशासन र सरोकारवाला पक्षबीच भएको छलफलले ग्यास वितरणलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । जसअनुसार ग्यास उद्योग र बिक्रेताले दैनिक कति ग्यास प्राप्त भयो र कसलाई बिक्री गरियो भन्ने स्पष्ट अभिलेख राख्नुपर्नेछ । बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, ग्यास वितरणमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति र डेरा गरी बस्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिन आग्रह गरिएको छ । प्रशासनले बिक्रेता र उपभोक्ता दुवैलाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र कृत्रिम अभावको हल्लाको पछि नलाग्न सचेत गराएको छ ।
ग्यास उद्योगहरूलाई समेत आफ्ना बिक्रेताहरूले सही ढङ्गले वितरण गरे/नगरेको नियमित निगरानी गर्न भनिएको छ । बजारमा कुनै पनि किसिमको अनियमितता वा कालोबजारी भएको पाइएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा जानकारी गराउन प्रशासनले सर्वसाधारणसँग अपिल गरेको छ ।