विभिन्न २१ मुलुक र नियोगका लागि राजदूत नियुक्तिको तयारी, दुई हप्ताभित्र सिफारिस गरिने

काठमाडौँ, १९ साउन । नेपाल सरकारले विभिन्न २१ मुलुक र कूटनीतिक नियोगहरूमा रिक्त रहेका राजदूत पदमा नियुक्तिको तयारी थालेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आगामी दुई हप्ताभित्र राजदूत नियुक्तिको सिफारिस प्रक्रिया अगाडि बढाइनेछ ।

मन्त्रालयका अनुसार राजदूत रिक्त रहेका १६ वटा दूतावास र चार वर्षे कार्यकाल पूरा गरी म्याद थपिएर काम गरिरहेका ५ वटा नियोग गरी कुल २१ स्थानमा नयाँ नियुक्ति गर्न लागिएको हो । कार्यकाल सकिएर पनि म्याद थपिएका नियोगहरूमा इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र संयुक्त राष्ट्र सङ्घीय नियोग भियना रहेका छन् ।

हाल विभिन्न मुलुकमा रहेका २८ वटा नेपाली राजदूतावासमध्ये १६ वटामा राजदूत पद रिक्त छ । मन्त्रालयका अनुसार भारत, चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का र स्पेनमा राजदूत पद रिक्त रहेका छन् ।

हाल न्यूयोर्क र जेनेभास्थित राष्ट्र सङ्घीय नियोगका साथै बेल्जियम, क्यानडा, फ्रान्स, कुवेत, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र यूएई लगायतका १५ नियोगमा मात्र राजदूतहरू कार्यरत छन् ।

सरकारले चालू आर्थिक वर्षदेखि खर्च कटौती र प्रभावकारिताको अध्ययनका आधारमा दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कमा रहेका नेपाली राजदूतावासहरू भने बन्द गर्ने निर्णय गरेको छ ।

नेपालको हाल ३ वटा संयुक्त राष्ट्र सङ्घीय स्थायी मिसन र ८ वटा महावाणिज्य दूतावाससहित विश्वभर कुल ३९ वटा कूटनीतिक मिसनहरू रहेका छन् । तीमध्ये आधाभन्दा बढी महत्त्वपूर्ण नियोगहरू लामो समयदेखि नेतृत्वविहीन हुँदा कूटनीतिक कार्यसम्पादनमा असर पुगेको भन्दै सरकारले नियुक्तिको प्रक्रियालाई तीव्रता दिएको हो ।